२०७२ साल फागुन ९ गते, म काठमाडौंको डिल्लीबजारस्थित एउटा होस्टेलमा बसिरहेको थिएँ। सामान्य दिनजस्तै दिन बितिरहेको थियो। घरबाट फोन आयो।
फोन उठाएँ।
उताबाट आमाको रुवाइ मात्रै सुनियो। केही क्षणपछि आमाले रुँदै भन्नुभयो,
“तेरा बाजे त मरी गए…”
त्यो वाक्य सुन्नासाथ म के भएँ, कसरी भएँ, आजसम्म शब्दमा भन्न सक्दिनँ। यस्तो लाग्यो, म एक्कासी आकाशबाट खसेँ। शरीर त्यहीँ थियो, तर मन कतै हराइसकेको थियो। संसार एकछिनका लागि रोकिएजस्तो लाग्यो।
म कसै संग केही नबोली बाथरुममा गएँ।
ढोका बन्द गरेँ।
रोएँ। धेरै रोएँ।
त्यो दिन मैले जीवनमा पहिलो पटक बुझें, मानिसको मृत्यु केवल एउटा मृत्यु मात्र हुँदैन, कहिलेकाहीँ त्यो हाम्रो जीवनको एउटा युगको अन्त्य पनि हुँदो रहेछ।
केही समयपछि मेरो एउटा साथीले ढोका ढकढक्यायो।
मैले आँसु पुछेँ, अनुहार धोएँ र ढोका खोलेँ। ढोका खुलेपछि बाहिरको संसार सामान्य जस्तै देखिन्थ्यो।
मानिसहरू आफ्नै काममा थिए। गाडीहरू चलिरहेका थिए। सहर उस्तै थियो। तर मेरो भित्रको संसार भने पहिलेको जस्तो थिएन।
त्यो रात थकान, पीडा र सम्झनाहरूको बीचमा कतिबेला निदाएँ, थाहा नै भएन।
तर बिहान एउटा सपना देखेँ। सपनामा बाजे आउनुभयो।
मलाई हेरेर भन्नुभयो
“तेरा सबै भाइहरूको व्यवस्था त लगभग ठिकै गर्या जस्तो लाग्या छ, तर तेरो लागि केही गरुला सोच्याको थियाँ, गर्न सकिनँ।”
म निद्राबाट ब्युँझिएँ। आँखा भरि आँशु भरिएका थिए । मन झन् भारी भयो। आँशु थाम्न सकिन फेरी एकछिन बाथरुम छिरें ।
बाजे सपना किन आउनु भयो होला, किन मलाइ तेसो भन्नु भयो होला भनेर धेरै दिनसम्म सोचिरहेँ। सपना कसैलाई भन्नु हुन् भन्ने भावना थियो , झन् कसै संग कुरा गर्ने हिम्मत नै आएन र यो कुरा कसैलाई भनिन पनि ।
केहि हप्ता पछि थाहा पाएँ, उहाँले यही कुरा आफ्नो जीवनको अन्तिम दिनहरूमा बज्यैसँग पनि भन्नुभएको रहेछ।
सायद त्यो सपना थिएन।
सायद त्यो एउटा अधुरो चिन्ता थियो, जुन बाजेले यो संसार छोड्ने बेलासम्म पनि बोकेर जानुभएको थियो, र मलाई भन्न सक्नु भएको थिएन। मलाइ लाग्यो बाजेबाट मैले के आश गरेको थिय र ? सायद त्यही दिन मैले पहिलो पटक महसुस गरें, मानिसहरू मरेर पनि पूर्ण रूपमा जाँदैनन्। उनीहरू आफ्ना चिन्ता, माया, शिक्षा र सम्झनाहरूका रूपमा हामीभित्र बाँचिरहन्छन्। झन् हजुर त मेरा बाजे हौ, मेरो रगतमा बगेको इतिहास हौ। कहिलेकाहीँ ऐनामा आफूलाई हेर्दा लाग्छ, नाकको डाँडीमा तिम्रो झल्को छ, उचाइमा तिम्रो छाप छ, अनि मनका कतिपय कुनाहरूमा तिम्रै स्वभाव लुकेको छ। तिमी आज साथमा नभए पनि, तिम्रा केही अंशहरू अझै मभित्र जीवित छन्।
आज फेरी तिम्रो यादले पोल्यो बाजे ।
खोई,
मानिसहरू भन्छन्, समयले सबै घाउ निको पार्छ। तर केही अभावहरू यस्ता हुँदा रहेछन्, जसलाई समयले पुरा गर्न नसक्दो रहेछ, केवल ति अभाबहरुले बाँच्न सिकाउँदा रहेछन। तपाईंको अभाव पनि त्यस्तै अभाव हो।
समय बित्दै गएको छ। वर्षहरू दशकमा बदलिरहेका छन्। मेरो कपालमा पनि विस्तारै जिम्मेवारीका रेखाहरू कोरिन थालेका छन्। हजुरको निधन पछी बा का काध भारि भए, सन्तान भएर जन्मे पछि बा लाइ पनि मैले काध सघाउन जिम्मेबारी पनि हुन्छ । जीवनले धेरै मान्छे चिनायो, धेरै बाटाहरू देखायो, धेरै पाठहरू सिकायो। तर जब मन दुःखी हुन्छ, जब जीवनका निर्णयहरूमा अन्योल पर्छ, जब संसारको भीडमा एक्लो महसुस हुन्छ, मेरो मन आज पनि तपाईंलाई नै खोज्छ। आकाश हेर्छु, सबै भन्दा टहकिलो तारामा तपाईलाई देख्छु ।
तपाईं यो संसारमा हुनुहुन्न, तर मेरो संसारमा अझै हुनुहुन्छ।
तपाईं मेरो छेउमा बस्नुभएको छैन, तर तपाईंका शब्दहरू, तपाईंका शिक्षाहरू, तपाईंको जीवन जिउने तरिका अझै मेरो साथमा छ।
मसँग तपाईंका धेरै सम्झनाहरू त छैनन्। सायद उमेर सानो थियो, सुनेको थिए तपाइँहरु संग १ र आधा बर्ष हाम्रै सिमलेखको छानामा बसेको थिय । सायद ति सबै दिनहरू मलाई याद छैनन्। तर जे जति सम्झनाहरू छन्, ती यति गहिरा छन् कि समयले तिनीहरूलाई मेटाउन सकेको छैन, र सक्दैन पनि।
मलाई याद छ, म तपाईंको काँधमा बसेर गाउँ डुल्थेँ। त्यो सानो उमेरमा संसारको सबैभन्दा सुरक्षित ठाउँ तपाईंको काँध थियो होला मेरा लागि।
मलाई याद छ, तपाईंसँग गाउँका बाटाहरू हिँडेको, हात समाएर उकालो-ओरालो चढेको।
त्यो साढे एक वर्ष मेरो जीवनको सबैभन्दा ठूलो विद्यालय रहेछ भन्ने कुरा आज आएर बुझ्दैछु।
त्यो बेला म बच्चा थिएँ। मलाई जीवन बुझ्नु थिएन। तर आज जब जीवन बुझ्न खोज्दैछु, तब थाहा पाइरहेको छु, मैले त्यहाँ बसेर, तपाइँको साथमा बसेर किताब भन्दा माथिको शिक्षा पाएको रहेछु।
तपाईंले मलाई कहिल्यै धनी बन्नुपर्छ भन्नुभएन। तपाईंले कहिल्यै धेरै पैसा कमाउनुपर्छ भन्नुभएन। तपाईंले मलाई सधैं एउटै कुरा सिकाउनुभयो “असल मान्छे बन्नू।”
तपाईंले भन्नुभयो, “पैसा कमाउनु ठूलो कुरा होइन, मान्छे कमाउनू ठूलो कुरा हो।”
त्यो बेला यी शब्दहरूको अर्थ बुझिनँ र बुझ्ने उमेर पनि थिएन। आज बिस्तारै बुझ्दैछु।
किनभने आज संसारमा धेरै धनीहरु देखेको छु, तर असल मान्छेहरू कम देखेको छु। धेरै पैसा भएका मान्छेहरू देखेको छु, तर मान्छेको मन जितेका मान्छेहरू कम भेटेको छु। सायद यही कारण हो, बाजे, कि तपाईंलाई आज पनि मानिसहरूले सम्झन्छन्।
तपाईंले मान्छेहरू कमाउनुभयो। तपाईंले सम्मान कमाउनुभयो। तपाईंले विश्वास कमाउनुभयो।
आज पनि बाजुरा, डोटी र सुदूरपश्चिमका विभिन्न ठाउँहरूमा तपाईंको उमेरका वा तपाईंलाई चिनेका बुढापाकाहरू भेटिन्छन्। उनीहरूले तपाईंको नाति हु भन्दा सम्मानका साथ मेरो कन्धामा थप्थपाउन्छन् । त्यो सम्मान तपाईंले कसरी कमाउनुभयो होला? त्यो पदले आएको थिएन। त्यो पैसाले आएको थिएन। त्यो कुनै शक्ति वा पहुँचले आएको थिएन। त्यो तपाईंको स्वच्छ चरित्र, इमानदार व्यवहार र मानिसहरूप्रतिको प्रेमले कमाएको सम्मान थियो।
आज पनि तपाईंको तस्बिर हेर्दा म यही कुरा सोचिरहन्छु। शिरमा ढाका टोपी, अनुहारमा सरलता, आँखाहरूमा गम्भीरता र मनभित्र सिंगो परिवारलाई एकतामा बाँध्ने सपना। पहाड जाँदा तेहाँका मानिसहरू भन्छन्, तपाईं दौरा-सुरुवाल लगाएर, खागी जुत्ता लगाएर गाउँको बाटो हिँड्दा मानिसहरूले सम्मानका साथ हेर्थे। त्यो सम्मान कपडाको थिएन, त्यो सम्मान कपडाभित्रको मानिसको थियो।
बाजे, जीवनको सबैभन्दा कठिन दिनमध्ये एक दिन त्यो पनि थियो, जब म पढाइका लागि सिम्लेख छोडेर तराई झरेँ। आजसम्म त्यो क्षणलाई मैले पूर्ण खुसीको क्षण भन्न सकेको छैन। मानिसहरूले भन्लान्, पढ्न जानु भनेको राम्रो अवसर हो । तर मेरो लागि त्यो दिन मैले एउटा गाउँ मात्र छोडेको थिइनँ, मैले मेरो पहिलो शिक्षक छोडेको थिएँ। मैले जीवनका सबैभन्दा सुरक्षित दिनहरू छोडेको थिएँ।
त्यसपछि हाम्रो भेट धेरै कम हुन थाल्यो। वर्षमा, प्रायः दशैंमा।
तर बाजे, ती दशैंहरू कति सुन्दर थिए।
तपाईं पहाडबाट तराई झर्नुहुन्थ्यो। कानमा झोला भिरेर आउनुहुन्थ्यो। झोलाभित्र काँक्रा हुन्थे, ओखर हुन्थे, दाल हुन्थ्यो, खुर्सानी हुन्थ्यो, टिमुर हुन्थ्यो । झन् तपाइँ आउँदा पुरै घर टिमुरको बास्नाले मग मग बसाउन्थ्यो । आज ती सबै सामान बजारमा पाइन्छन्। तर त्यो झोलामा केवल सामान मात्र हुँदैनथ्यो। त्यो झोला संग संग गाउँको माया लिएर आउनु हुन्थ्यो, आफ्नोपन आउंथ्यो, परिवारको न्यानोपन आउंथ्यो।
तपाईं घर आइपुग्नुभयो भने घर नै घरजस्तो लाग्थ्यो। दशैं साँच्चिकै दशैंजस्तो लाग्थ्यो। म घरमै बस्न हतारिन्थेँ। तपाईं आउनुभएको दिन घरभित्र छुट्टै खुसी हुन्थ्यो। आज पनि ती दिनहरू सम्झँदा मन भक्कानिन्छ।
बज्यै अझै हुनुहुन्छ। लगभग तीस वर्षको मेरो उमेर भै सक्यो, तर सोच्दा अचम्म लाग्छ, मैले बज्यैसँग कुल जोड्दा एक वर्ष पनि सँगै बिताएको छैन होला। सायद यही आजको जीवन हो। सायद यही आधुनिक संसार हो। तर तपाईंको विचार यस्तो थिएन।
तपाईंको सबैभन्दा ठूलो शक्ति परिवार थियो।
तपाईंको सबैभन्दा ठूलो सपना परिवार थियो। सायद तेही भएर हो बजेई पनि सबै तिमिहरु पाहाड आउ भन्ने । “तम्रा बाजेले बनायाको येत्रो जग्गा बाजै रैग्यो” भन्ने ।
तपाईं मान्नुहुन्थ्यो कि परिवार कहिल्यै टुक्रिनु हुँदैन। परिवार भनेको एउटै घरमा बस्नु होइन, एउटै मनमा बस्नु हो। पाँचवटा घर होलान्, सयवटा घर होलान्, त्यो ठूलो कुरा होइन। मनहरू जोडिएका हुनुपर्छ। एकता हुनुपर्छ। परिवार भनेको एक-अर्काको दुःखमा उभिन सक्ने शक्ति हो।
तर बाजे, तपाईं गएपछि धेरै कुरा बदलियो।
परिवारहरू छुट्टिए।
घरहरू छुट्टिए।
मानिसहरू छुट्टिए।
सबै आ-आफ्नो संघर्षमा व्यस्त भए।
तपाईंका भाइहरूका परिवारहरू टाढा छन्। तपाईंका छोराहरू आ-आफ्नो बाटोमा छन्। नातिनातिनाहरू संसारभरि छरिएका छन्। म पनि त अलगै छु।
कहिलेकाहीँ म आफैँलाई प्रश्न गर्छु, तपाईंले भनेको परिवार कसरी जोगाउने? कसरी सबैलाई जोडेर राख्ने? कसरी सम्भव छ यो कलियुगमा?
सबै पैसा कमाउने दौडमा छन्। सबैले पैसाले परिवार जोड्छ सोचेका छन् ।
सबै आफ्नो भविष्यको चिन्तामा छन्।
सबैसँग समय कम छ।
सबैसँग कारणहरू धेरै छन्।
र म पनि त्यही भीडको एउटा हिस्सा बनेको छु।
सकेसम्म प्रयास गरेको छु, बाजे। तपाईंले सिकाएका कुराहरू सम्झिने प्रयास गरेको छु। परिवारलाई जोड्ने प्रयास गरेको छु। परिवारलाई नजिक ल्याउने प्रयास गरेको छु। तर कहिलेकाहीँ लाग्छ, म आफैँ जीवनको दौडमा पछि छु। म आफैँ थाकेको छु। अनि सोच्छु, आफैँ हिँड्न गाह्रो भइरहेको बाटोमा अरूलाई कसरी सँगै लैजाऊँ?
तर एउटा कुरा भने म गर्वका साथ भन्न सक्छु।
मैले जानेसम्म, बुझेसम्म, आजसम्म कसैलाई घात गरेको छैन।
मैले जागिर गरेँ।
तपाईंले सिकाएजस्तै स्वच्छ, इमान्दार हिसाबले काम गर्ने प्रयास गरेँ।
मानिसहरूलाई प्रयोग गर्ने होइन, सम्मान गर्ने प्रयास गरेँ।
गल्तीहरू पक्कै भएका होलान्, तर बेइमानी गर्ने प्रयास कहिल्यै गरिनँ।
सायद यही तपाईंको सबैभन्दा ठूलो विरासत हो, जुन तपाईंले हामीलाई छोडेर जानुभयो।
आज संसार धेरै बदलिएको छ।
घरहरू ठूला भएका छन्, तर मनहरू साना भएका छन्।
सुविधाहरू बढेका छन्, तर सम्बन्धहरू कमजोर भएका छन्।
पैसा बढेको छ, तर सन्तुष्टि घटेको छ।
मानिसहरू नजिक देखिन्छन्, तर वास्तवमा धेरै टाढा छन्।
यस्तो बेला तपाईंका शब्दहरू झन् धेरै सम्झिन्छु।
“असल मान्छे बन्नू।”
“मान्छे कमाउनू।”
जीवनको यति लामो यात्रापछि आज आएर बुझ्दैछु, यी दुई वाक्यभित्र जीवनको सम्पूर्ण दर्शन लुकेको रहेछ।
बाजे, तपाईं आज यो संसारमा हुनुहुन्न। तर जब म इमानदारी रोज्छु, तपाईं हुनुहुन्छ। जब म कसैलाई अन्याय नगर्ने निर्णय गर्छु, तपाईं हुनुहुन्छ। जब म परिवारलाई जोड्ने प्रयास गर्छु, तपाईं हुनुहुन्छ। जब म मान्छेको मन जित्ने प्रयास गर्छु, तपाईं हुनुहुन्छ।
सायद यही कारण हो कि मृत्युले तपाईंलाई मबाट खोस्न सकेन।
किनभने तपाईं मेरो सम्झनामा मात्र होइन, मेरो सोचाइमा हुनुहुन्छ।
मेरो निर्णयहरूमा हुनुहुन्छ।
मेरो चरित्रमा हुनुहुन्छ।
मेरो जीवन जिउने तरिकामा हुनुहुन्छ।
र जबसम्म म तपाईंले सिकाएको बाटोमा हिँड्ने प्रयास गरिरहन्छु, तबसम्म तपाईं कहिल्यै मर्नुहुने छैन।
किनभने केही मानिसहरू शरीरले मात्र जान्छन्।
उनीहरूले छोडेका शिक्षा, आदर्श र प्रेम भने पुस्तौँसम्म बाँचिरहन्छन्।
र तपाईं त्यस्तै मानिस हुनुहुन्छ, बाजे।
मेरो जीवनको सबैभन्दा ठूलो प्रेरणा।
माथिबाट हाम्रो परिवारको रक्षा गर्नु होला, बाजे। हामीलाई सही बाटो देखाइरहनु होला।
हामी टाढा-टाढा भए पनि मनहरू सधैँ जोडिरहून् भन्ने तपाईंको सपना कहिल्यै नमरोस्।


