मनभित्रको आकाश

मनभित्रै खुशी, मनभित्रै पीडा गुम्सिए झैँ लाग्छ मलाई,
यो आकाश र मेरो मन एउटै स्वरमा बाँधिए झैँ लाग्छ मलाई।
आकाश जति विशाल छ, मेरो मन पनि त्यति नै अनन्त फैलिएको,
अनुभूतिको गहिराइमा हराएर, शब्दले नछोपिने कथा बने झैँ मलाई।

बिहानीको सुनौलो किरणले आकाश छोए झैँ,
मेरो मनमा पनि नयाँ आशा पलाए झैँ लाग्छ मलाई।
सायद जीवन भनेकै उज्यालो र अँध्यारोको खेल हो,
त्यही खेलभित्र आफू, हराए झैँ लाग्छ मलाई।

कहिले कालो बादलले आकाशलाई पूर्ण ढाकिदिन्छ,
त्यस्तै मेरो मन निरासाले केही क्षण मौन बने झैँ लाग्छ मलाई।
न बोल्न सक्ने शब्दहरू, न भन्न सक्ने भावनाहरू,
सबै मनका बेथाहरू कुनै कुनामा थुनिए झैँ लाग्छ मलाई।

तर फेरि बर्षा पछिको सुर्यका किरणले आकाश  चिरे झैँ,
त्यस्तै भित्रभित्रै आशाको दियो मनमा बले झैँ लाग्छ मलाई।
टुटेर पनि बाँचिरहने, मनको अचम्मको बानी,
हरेक चोटपछि फेरि हाँसीरहन्छ जस्तो लाग्छ मलाई।

रातका गहिरा अँध्यारोमा लाखौँ कोस पर तारा टल्किए झैँ,
मेरो मनभित्र पनि स-साना सपनाहरू चम्किय झैँ लाग्छ मलाई।
कहिले तारा जस्तै सपनाहरुको दुरी कोसौं टाढा लाग्छ,
दुरी भएता पनि तिनै सपना, जिउने बहाना झैँ लाग्छ मलाई।

बादल फाटेर पानी पर्दा आकाश रोएझैँ,
मेरो मन पनि अनायासै आँसुमा भिजेझैँ लाग्छ मलाई।
त्यो आँसुमा लुकेको पवित्र उज्यालो झिल्किएझैँ,
मान्छेलाई पीडाले नै समयसँगै निखारेझैँ लाग्छ मलाई।

हावाको बेगले आकाशका बादल उडाएझैँ,
स-साना भावनाले मेरो मन हल्लिएझैँ लाग्छ मलाई।
तर फेरि आँधीपछि आकाश स्थिर भएझैँ,
भित्र कतै अटूट भरोसा फेरि जागेझैँ लाग्छ मलाई।

मनभित्र खुशी र पीडा सँगै अल्झिएझैँ,
यो आकाश र मेरो मन एउटै रहस्य बनेझैँ लाग्छ मलाई।
जति बुझ्न खोजे पनि नबुझिने गहिराइ भएझैँ,
जिबन आफैंसँगै बाँचिरहेको अनन्त कविता बनेझैँ लाग्छ मलाई।

– By Dinesh Bhandari

Facebooklinkedinmail

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top