मन्दिरको ढुङ्गा पूजेर
के पाउँथेँ र म, बा?
जब साक्षात् भगवान्
घरकै आँगनमा
दिनभरि यता-उता हिँड्नुहुन्छ त।
तपाईंको निधारबाट झर्ने पसिना
साधारण पसिना होइन, बा,
त्यो त तीर्थको जल बनेर झरेको छ,
माटोलाई पवित्र पार्दै
मेरो भविष्य कोरेको छ।
आफ्ना रहरहरू
पटुकीमा बाँधेर,
मेरो सपनाको महल बनाउन
हिमालझैँ अडिग बस्नुहुन्छ,
आवश्यक पर्दा आफै पग्लेर
खोला झैँ बनी बग्नुहुन्छ।
तपाईंको पर्खाइ
बादलझैँ धैर्यवान् छ,बा,
तपाईंको माया
सालको रुखझैँ महान् छ।
न्यानो, स्थिर, अनन्त,
कहिल्यै नढल्ने, बलवान छ।
त्यो बिहान, बा,
मलाई स्कुल पठाउँदा,
पसिना पुछेर मुस्कुराउनुभयो,
त्यही क्षण मैले बुझेको थिएँ,
ईश्वर स्वर्गमा होइन,
मेरो भविष्य बोकेका तिम्रा काँधमै रहेछ।
दशैं आयो,
मेरो लागि नयाँ लुगा आय,
तर तपाईंको शरीरमा
उही पुरानो झुत्रो थिय।
प्रत्येक धागाले बोलेको थिय
त्यागका मौन कथा थिय।
तपाईंका फुटेका कुर्कुच्चा,
चाउरी परेका गाला,
परिवारको भारले कुप्रेको पिठ्युँ,
यी सबै.
हिमालभन्दा पवित्र छन्, बा
बादलभन्दा सफा छन्।
त्यस्तो सौन्दर्य,
फूलबारीमा कहाँ भेटिन्छ र?
तपाईंको ममताको सुवास
जुनसुकै फूलभन्दा मिठा छन् ।
तपाईंको मौनताभित्र
नदीका छालहरू बग्छन्,
शब्द बिना नै
मलाई बाँच्न सिकाउँछन्।
आज म जे छु, बा,
त्यो तपाईंको छायाँ हो,
तपाईं भएर मात्र
मेरो अस्तित्व हो।
तिमी नै मेरो सबैभन्दा सुन्दर सत्य हौ, बा ।
मेरो हर सासमा बस्ने शान्त आशा हौ।
थाकेको मनलाई सम्हाल्ने बल बनेर,
मेरो हर सपना पूरा गर्ने आस्था हौ।
जिन्दगीको भीडमा हराए पनि ,
मलाई फर्काइदिने घरजस्तो साथ हौ।
– Dinesh Bhandari –

