मन, समय र म बीचको लडाइँ

भनेको जस्तो जीवन कहाँ सजिलो हुन्छ र ?
सायद म पनि यही अनिश्चितता भित्र बाँचिरहेको मान्छे हुँ । बाहिरबाट हेर्दा सबै ठीकठाक जस्तो देखिए पनि, भित्र भने कहिलेकाहीँ अजीब खालको हलचल चलिरहेको हुन्छ। म हिँडिरहेको छु, दौडिरहेको छु, केही न केही गरिरहेको छु, तर कहिलेकाहीँ आफैँलाई सोध्छु “म किन?”
हुन सक्छ, यसको स्पष्ट उत्तर मसँग छैन? हुन सक्छ, म अरूलाई पछ्याउँदैछु? हुन सक्छ, म आफैँबाट भाग्दैछु ? कि मैले आफैलाइ बुझेको छैन ?

आजकल मेरो मात्र नभई सबै मानब जीवन अचम्मको मोडमा पुगेको जस्तो लाग्छ।
मानिससँग सबै कुरा छ; मोबाइल, इन्टरनेट, अवसर, योजना, लक्ष्य। तर जति धेरै यी कुरा बढ्दै गएका छन्, त्यति नै मानिसको भित्रको शान्ति घट्दै गएको जस्तो लाग्छ।
म आफैँलाई हेर्दा पनि त्यही देख्छु, म व्यस्त छु, तर सन्तुष्ट छैन। मसँग काम छ, तर मन स्थिर छैन,।
म मानिसहरूले घेरिएको छु, उनीहरूसँग कुरा गर्छु, हास्छु, रमाउँछु, तर कहिलेकाहीँ भित्रैबाट एक्लो महसुस गर्छु। मैरो चारैतिर साथी र चिनजानका मान्छे भए पनि, मनको गहिराइमा कहिले काँही त्यो खालीपनको अनुभूति आउँछ, जसलाई कसैले देख्दैन र न सुन्छ। म आफूलाई भीडमा भएता पनि अलगै महसुस गर्छु, मानौं मेरो आत्माले केही बुझ्ने मान्छे खोजिरहेको छ, र मैले संगत गरिरहेकाको संगतमा चित्त बुझाउन सकिरहेको छैन, या उनीहरुको संगत नै मलाइ बुझ्न या मेरो सहजीकरण होइन ?

हुन सक्छ, यो केवल मेरो मात्र अनुभव होइन।
सायद आजको समयमा धेरै मानिस यही अवस्थाबाट गुज्रिरहेका छन्, बाहिर हाँसो, भित्र खालीपन।

कहिलेकाहीँ हामीले मोबाइल खोलेर हेर्दा अरूको जीवन चर्क सामाजिक संजालमा हेर्छौ ।
कसैको सफलता, कसैको घुमघाम, कसैको खुशी।

किन म त्यस्तो छैन?”
“किन मेरो जीवन यति साधारण?”
यस्ता प्रश्नहरू बिस्तारै मनभित्र पस्छन्। तर गहिरिएर सोच्दा लाग्छ, हुन सक्छ, त्यो देखिएको सबै कुरा पूर्ण सत्य होइन। हुन सक्छ, उनीहरू पनि म जस्तै केही न केही खोजिरहेका छन्। मनको सान्ति !!!

मन साँच्चै अचम्मको चीज हो। यसलाई बुझ्न गाह्रो छ। कहिले यो धेरै खुशी हुन्छ, सानो कुरामा पनि। कहिले भने, ठूलो उपलब्धिमा पनि सन्तुष्ट हुँदैन।

यसको पछाडि विज्ञान पनि छ।
दिमागले सधैँ नयाँ कुरा खोज्ने गर्छ, नयाँ अनुभव, नयाँ सफलता, डोपामिन नामको रसायनले हाम्रो मस्तिष्कलाई निरन्तर केही खोज्न र पाउन तत्पर रहन्छ, सानो खुशी र उत्साह अनुभव गर्नका लागि हामी नयाँ अनुभवतर्फ अग्रसर हुन्छौं। यसले हाम्रो व्यवहारलाई प्रभावित गरी जीवनलाई उत्साही र रोमाञ्चक बनाउँछ, कहिलेकाहीँ आवश्यकता भन्दा बढी !!

त्यसैले होला, कहिलेकाहीँ केही पाउँदा अलिकति खुशी महसुस हुन्छ, तर त्यो खुशी छिट्टै हराउँछ। फेरि अर्को चाहिन्छ, अर्को लक्ष्य, अर्को प्रयास, अर्को खुशी । यसरी निरन्तर दौडमा हामी फस्छौं, र जीवनको त्यो “पूर्णता” वा “सन्तोष” भन्ने स्थानमा पुग्न अलमल पर्छौ |

अर्कोतर्फ, दिमागले नकारात्मक कुरालाई धेरै छिटो समात्छ। एक दिनमा १० वटा राम्रो कुरा भए पनि, एउटा नराम्रो कुरा भयो भने, मन त्यहीँ अड्किन्छ, खिन्न हुन्छ।
सायद यही कारणले मानिसहरू सानो समस्यालाई पनि ठूलो बनाउँछन्, र स-साना खुशीलाई पनि बेवास्ता गर्छन्।

म आफैँलाई हेर्दा, कहिलेकाहीँ लाग्छ, म धेरै सोचिरहेको छु।
भविष्यको चिन्ता, विगतको सम्झना, र वर्तमानको बेवास्ता।

कहिलेकाहिँ मनमा भिन्न खुल्दुल हुन्छ, भविष्यको बारेमा सोच्दै बस्छु “के होला?”
म विगत सम्झन्छु “त्यो बेला किन त्यस्तो गरें?”
अनि आजको दिन, जुन वास्तवमा बाँच्नुपर्ने समय हो,
त्यो चुपचाप बितेर जान्छ।

हुन सक्छ, यही नै मेरो सबैभन्दा ठूलो गल्ती हो।

कहिलेकाहीँ म रोकिने कोशिश गर्छु, लामो सास फेर्दै ध्यान दिन्छु, मन सम्हाल्न खोज्छु।
आकाशतिर हेर्छु, मनलाई थोरै खाली पार्ने प्रयास गर्छु। त्यही बेला सानो शान्तिको अनुभूति हुन्छ। त्यो शान्ति ठूलो हुँदैन, तर यसको सरलता र साँचोपनले मनलाई हल्का बनाइदिन्छ।

सायद त्यही कुरा दार्शनिकहरूले भन्न खोजेका हुन्।
जस्तै Osho ले भनेका छन् “The mind is always either in the past or in the future; if you learn to live in the present, peace will come by itself.”

हुन सक्छ, म अझै सिक्दैछु, अहिलेको क्षणमा बाँच्न, अहिलेको समयलाई महसुस गर्न।

जीवनलाई गहिरिएर हेर्दा लाग्छ, यो त्यति जटिल छैन, जति हामीले बनाइरहेका छौँ।
बिहानको हावा उस्तै छ,
आकाश उस्तै छ,
सूर्य उस्तै छ।

हुन सक्छ, म धेरै चाहिरहेको छु।
हुन सक्छ, म आफूलाई स्वीकार्न ढिलो गरिरहेको छु।

कहिलेकाहीँ, म आफैँलाई सम्झाउँछु, सबै कुरा मेरो नियन्त्रणमा छैन। समय आफ्नो बाटोमा चलिरहन्छ।
मानिसहरू आउँछन्, जान्छन्। परिस्थितिहरू बदलिन्छन्।

तर एउटा कुरा भने मेरो हातमा छ,
म कसरी सोच्ने, म कसरी बाँच्ने

मसँग केही मानिसहरू छन्,धेरै होइन, तर पर्याप्त।
उनीहरूसँग धेरै कुरा गर्नुपर्दैन, तर उनीहरू आवासले मात्रले पनि मन हल्का हुन्छ। सायद, जीवनमा धेरै सम्बन्ध चाहिँदैन, थोरै तर साँचो सम्बन्धले जिबन पर्याप्त र सजिलो हुन्छ।

अन्ततः म बुझ्दै छु ,जीवन कुनै पूर्ण कहानी होइन। यहाँ सबै कुरा मिल्दैन।
कहिलेकाहीँ योजना बिग्रिन्छ,
कहिलेकाहीँ मन थाक्छ,
कहिलेकाहीँ केही पनि ठीक जस्तो लाग्दैन।

तर त्यही बीचमा,
स–साना क्षणहरू पनि हुन्छन्
जहाँ मन शान्त हुन्छ,
जहाँ हाँसो साँचो हुन्छ,
जहाँ केही समयका लागि सबै कुरा ठीक लाग्छ।

हुन सक्छ, खुशी ठूला उपलब्धिमा होइन,
यस्तै साना सासहरूमा लुकेको हुन्छ,
जहाँ थाकेको मनले आराम पाउँछ,
र आत्माले आफूलाई फेरि भेट्छ।

– दिनेश भण्डारी –

Facebooklinkedinmail

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top