me

बिना सफर,बिना मन्जिलको
एउटा बाटो हुन चाहन्छु म,
जहाँ कसैको पैतालाको छाप नहोस्,
त्यो सुनसानमा रमाउन चाहन्छु म।

कतै टाढा कुनै जङ्गलको काखमा
बनमान्छे झैँ बन्न चाहन्छु म,
शहरको यो कोलाहल र भीडबाट
आफ्नै मौनतामा लुक्न चाहन्छु म।

बिना बाटो अनि अलपत्र जिन्दगीको
हराएको बाटो बन्न चाहन्छु म,
न हराउने डर, न भेटाउने आस
बेपरवाह लहर बन्न चाहन्छु म।

धेरै माथि उचाइबाट झर्ने झरनामाझैँ
सफेद र निर्मल बन्दै हराउन चाहन्छु म,
ढुङ्गासँग ठोक्किँदै,
सङ्गीत भर्दै आफ्नै वेगमा बग्न चाहन्छु म।

समयको यो तराजुमा नजोखिने
एउटा स्वतन्त्र पल हुन चाहन्छु म,
कसैको अपेक्षाको भारी नबोकी
रित्तो आकाश हुन चाहन्छु म।

संसारले कोरिदिएको रङ्ग होइन
आफ्नै रङ्गमा पोखिन चाहन्छु म,
अरुको नजरमा “कोही” बन्नु भन्दा
आफ्नै नजरमा “म” हुन चाहन्छु म।

– दिनेश भण्डारी –

Facebooklinkedinmail

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top