म गरिब हुँ, म नै हरेक ठाउँ छु
जहाँ चुहिने छानोको टप टपले
दैनिक जीवनको गुनासो लेख्छ,
जहाँ चिसोले रातभर
काँपिरहेको शरीरलाई कठोर प्रश्न सोध्छ।
जहाँ भोकले आँत चुँडिन्छ,
तर आवाज भने चुपचाप रहन्छ,
जहाँ सपनाहरू कुटिएर
धुलो बनेर टल्किन खोज्छन् ।
तर जीवन जोगाइरहने अदम्य बलझैँ
म नै उभिएको छु।
म गरिब हुँ, म हर जहाँ छु।
खरिएको घाम सँग खेल्नका लागि,
पुष-माघको ठन्डी जाडो झेल्नका लागि,
ठूला चट्टानहरू चिर्नको लागि,
बलियो फलाम मोड्नका लागि,
जीवनभर खेती गर्दै बाँच्नका लागि,
म मेहनती, म नै त छु,
म गरिब हुँ, म हर जहाँ छु।
म रामायणका कथनमा छु,
कविहरूले लेखेझैँ, शब्द शब्दको गहिरो व्यथामा छु।
म मजदुरका फाटेका हातमा छु,
भंगीका कठोर दिनचर्यामा छु,
घामले पोल्दा, पेटले बोल्दा
जीवनका उग्र सडकहरूमा छु।
म अमीरका महलभित्र पनि छु,
चिल्ला सडकका अदृश्य छायामा छु,
धनको मात्रा फरक होला,
तर अस्तित्वको एउटै सतहमा छु।
म राजनीतिका गलि हुँदै, घुमिरहने नारा नारामा छु,
वचन, प्रचार, र शब्दको भीडमा
अक्सर भुलिने एउटा पात्र हूँ।
म गरिब हुँ, म हर जहाँ छु।
म सुक्दै गएको कालो दरिया,
सम्झनामा टाँसीएका हजार चोट हूँ,
बग्न खोज्छु, तर किनारा किनारामा
निरन्तर रोकिरहने संघर्षको रोट हूँ।
हो, म गरिब
यही भएर म हर ठाउँमा छु हूँ।
म ती सब ठाउँमा छु, जहाँ मेरो नाम छैन:
ठुला बिद्यालयका आँगनमा मलाई स्थान छैन,
राम्रा अस्पतालका ढोकामा मेरो काम छैन,
धनी वर्गसँग सम्बन्धको कुनै आयाम छैन,
भरि पेट एक छाक खानलाई पनि विश्राम छैन,
मानवीय सम्मान पाउनलाई मेरो कुनै धाम छैन,
त्यसैले त, मेरो श्रमको मोल भए पनि,
मेरो अस्तित्व अनि सान छैन ।
म गरिब हुँ, म हर जहाँ छु।


