सपना, सपनामै सीमित छन्
त्यो दिन आउला या नआउला,
समय बताउला।
मनका पिरहरूले
कहिले गति छोला,
कहिले शीतलता छाउला।
त्यो बाटो महक्याउला
या फेरि शून्यतामा हराउला,
परिस्थिति र रेखाचित्रले बताउला
कसैको दिन फेरियाला,
त कसैलाई अन्धकारले पिरोल्ला।
रहरका रङ्गीन चराहरू
कहिले आकाशमा रम्लान्,
त कहिले पिँजडामा थुनिइरहलान्।
आँशुका यी थोपाहरूले
कहिले प्यास मेटाउला,
त कहिले पीडाको बाढी निम्त्याउला।
विश्वासका यी खम्बाहरू
कहिले जगैदेखि डगमगाउला,
त कहिले अटल भई उभिरहला।
भाग्यको यो बन्द ढोका
कहिले आफ्नै अगाडि खुल्ला,
या कसैको प्रतीक्षामै
उमेर ढल्किरहला।
गन्तव्यका ती मोडहरूले
कहिले सिधै शिखर पुर्याउला,
त कहिले घुमाएर ओरालो झार्ला।
पसिनाको हरेक थोपाले
बाँझो धर्ती भिजाउला,
या बालुवामा खसेर
अस्तित्व नै मेटाउला।
कठिनाइका छालहरूले
मनोबललाई निरन्तर छामिरहला,
तर साहसको दीप
कहिल्यै निभ्दै ननिभ्ला।
संघर्षको पथमा
त्यो दिन अवश्य फक्रिएला,
अँध्यारो क्षितिजपारि
सुनौलो प्रभात झैँ उदाइरहला।
यात्राहरू रोकिएलान्
या फेरि नयाँ मोड समाउला,
गल्तीहरू सुध्रिएलान्
या तिनैले पाठ सिकाउला।
अन्त्यमा जीत आफ्नै होला
या हारले नै गलाउला
त्यो त समय नै बताउला।
त्यो दिन आउला या नआउला,
समय बताउला।



