” माँ ” एउटा शब्द मात्र होइन, सम्पूर्ण अस्तित्वको पहिलो रेखा।
बदलिएका मौसमले आकाश रित्तो बनाउँदा, अन्धकारले मन भताभुङ्ग पार्दा, छोराका आँखीभित्तामा डरका बादल उम्लिँदा, आमा मात्र थिइन जसले आफ्नो काँधमा बोकिएको डोकोबाट रंग निकालेर संसारलाई रंगिन बनाइदिन्थिन्।
आकाश बेजोर हुन्थ्यो, उज्यालो नै डर लाग्दो हुन्थ्यो, अनि आमाले निसंकोच हावालाई आफ्ना रंग थमाइदिन्थिन्।
त्यही क्षण…
इन्द्रेणी जन्मिन्थ्यो, निलो रंग फिर्ता आउँथ्यो, अनि आमा हातले टाउको मसार्दैँ बारम्बार भन्थिन्
“छोरा, डराउनुपर्ने केही छैन।”
छोरो फेरि आफ्नो धुनमा बग्थ्यो।
जन्मिएदेखि उसको पहिलो जित, उसको पहिलो खुशी, आमाकै कारण थियो।
तर समय कहिल्यै उस्तै भएर बस्दैन।
जब पेट तातो भरी खान आमा नभएसम्म छोरोलाई जीवन सजिलो लाग्दैनथ्यो।
आमाले एक छाकका लागि आफू भोकै बसिन्, छोराका लागि नयाँ कपडाको सपना छातीमा गाडेर पुराना च्यात्तिएका कपडामा हाँसिन्। तर छोराले त्यो देखेन।
कि देखेर पनि बुझेन ?
दिन उल्टिँदै गए, उमेरले हड्डी चुस्दै गयो । छोरो टाढिँदै गयो नयाँ साथी, नयाँ बानी, नयाँ चासो।
बिस्तारै पान, खैनी, चुरोट, रक्सी, अनि झूट, चोरी, लडाइँ। आमाले बुझिनन्, बुझ्न चाहिनन्।
किनकि उनको संसारमा एउटा साँचो थियो ।
छोरा त राम्रो नै छ, उसको मन भित्रका चोट उनले कहिल्यै नापिनन्।
खाना पस्किँदा आमाले हरेक दिन सोध्थिन “अनि, आज के भयो? कहाँ थियौ?”
तर छोरो मुख झुकाएर रोटीका टुक्रा चपाउँदै बस्थ्यो, त्यसैलाई जीवन ठान्दै।
आमाको मुटुले उसका भोक–प्यास एक–एक रित्तो कणसम्म थाहा पाउँथ्यो।
छोरा आधा पेट खाएर उठ्दा आमा भाँडा उठाउँदै सधैं बर्बराउँथिन् “अझै खा भने मान्दैन।”
तर भोलि पनि त्यही दोहोरिन्थ्यो, किनकि माया कहिले थाक्दैन।
आमा बुढी हुँदै गइन्, कपाल चाँदी, शरीर काँडो, आँखा धुंधला, तर प्रार्थनामा छोराकै नाम अडिइरह्यो ।
“भगवान, उसको खुशी होइन भने – कम्तीमा उसलाई दुख नदेऊ।”
छोरो बिस्तारै सफल भयो, पैसा कमायो, घर बनायो, परिवार बनाएर अर्को चुलो जलायो। तर त्यो घरमा “आमाको ठाउँ” कहिल्यै बनाएन। उसले कहिल्यै सोध्दैन “आमाले आज के खाइन्?”
त्यसको मनमा आमाको याद मात्र कहिले–काहिँ टल्किन्छ, जब घरमा मेथीको झोल पक्छ।
आमाले बनाइदिएको झोल सम्झिँदा ,रोटी नै घाँटीमा अड्किन्छ।
त्यही पुरानो स्वाद, त्यही पुरानो हातको स्पर्श, तर अहिले त्यो हात कहाँ छ?
छोरा सधैँ चरा भएर उड्न चाहन्थ्यो,
आमा सधैँ रुख भएर थामिरहिन्।
तर रुख पनि बुडो भएर ढल्छ। आमा ढलिन्, शरीर धुलो माटोमा फर्कियो, तर छोराको मन तबमात्र चिच्यायो ।
“मैले रुखको महत्त्व अब बुझें!”
अब जनमतेर चाहे कति रोए, कति पश्चात्ताप गरे, गुड भत्किएपछि, रुख काटिएपछि, त्यो ठाउँमा फेरी आमा उभिँदैनिन्।
!! छोराहरू सावधान र होशियार !!
आमाको समय धेरै बाँकी छैन, तर तिम्रो पश्चात्ताप जीवनभरि बाँकी पर्न सक्छ।
फोन, साथी, पार्टीहरू एक दिन हराउँछन् तर आमा हरेक दिन फर्किँदिनन्; उनी “Busy” भनेर पर्खिरहनुपर्ने पात्र होइनन्, पर्खेर–पर्खेर थाकेर जान्छिन्। पैसा कमाउनु कौशल मात्र हो, तर आमा सम्झनु भनेको मानिस बन्नु हो। उनले जति टाढा भए पनि मन हरेक क्षण छोरासँगै राख्छिन्, छोरा कति चोट देओस्, कति बिर्सियोस्, आमा अझै पनि आशीर्वाद दिन्छिन्। संसारमा एकमात्र व्यक्ति जसले आफैँलाई “मर्छु” भनेर भीक मागेर पनि, छोराका लागि “बाँचिदे” भनी भगवानसँग जीवन माग्छिन्, त्यो आमा मात्र हो।



