भीडभित्रको म : एउटा बाँच्दै गरेको ‘एक्लो’ कथा 

आर्यघाटबाट फर्किएपछि केही समय लाग्यो म एक्लो छैन भन्ने भ्रमलाई चिर्न।तर, जब म आफ्नो घरको ढोका खोल्छु, बाहिरको अँध्यारो भन्दा भित्रको “उज्यालो शून्यता” ले मलाई बेस्सरी गिज्याउँछ।

भान्साबाट श्रीमतीको आवाज आउँछ, “कहाँ हराउनुभएको यतिन्जेल? खाना चिसिसक्यो।” यो चिन्ता हो कि केवल एउटा रुटिन? म ठम्याउन सक्दिनँ। म टेबुलमा बस्छु। घरका सबै आफ्नै मोबाइलको संसारमा झुम्मिएका छन्।श्रीमती भोलिको रासन र छिमेकीको नयाँ गाडीको कुरा गर्दैछिन्। म उनीहरूकै अगाडि छु, तर मलाई लाग्छ म त्यहाँ छैन।मेरो उपस्थिति उनीहरूका लागि केवल एउटा ‘प्रदायक’ (Provider) को जस्तो मात्र छ, जसले बिल तिर्छ र घरको रक्षा गर्छ।

मैले सोचेँ के म हुनुको अर्थ यति मात्रै हो?

भोलिपल्ट अफिस जान्छु। साथीभाइको एउटा ठूलो सर्कल छ। चिया पिउँदा हाँसोठट्टा हुन्छ, राजनीति र बजारका कुरा हुन्छन्।तर, जब म आफ्नो मनको कुनै एउटा कुना खोल्न खोज्छु, सबैका आँखा भित्ताको घडीमा ठोकिन्छन्।कसैलाई अर्को मिटिङमा जानु छ, कसैलाई श्रीमतीको सपिङ लिस्ट पूरा गर्नु छ।

सबैजना मलाई “सुन्न” होइन, मबाट “केही पाउन” मात्र मसँग छन् जस्तो लाग्छ। कोही आफ्नो काम निकाल्न आउँछन्, काम सकियो अनि टाढा हुन्छन्। कोही एक्लोपन मेट्न आउँछन्, समय बितेपछि चिनिन छोड्छन्।

म हाँसेको बेला सबैलाई सहज लाग्छ, तर म थाकेको, दुखेको, टुटेको बेला कसैसँग फुर्सद हुँदैन, किनकि मेरो पीडाले उनीहरूको स्वार्थ पूरा गर्दैन र गर्ने पनि छैन। म बोल्न खोज्दा विषय फेरिन्छ, म मौन हुँदा कसैले सोध्दैन ,“के भयो?”,मेरो आँखा बोलिरहन्छ, तर सुन्न चाहने कान हराइसकेका हुन्छन्।

यहाँ भावना होइन, उपयोगिता मूल्याङ्कन हुन्छ। म कति काम लाग्छु, कति फाइदा दिन सक्छु? जब म उपयोगी हुँदिनँ, म अदृश्य बन्छु। कहिलेकाहीँ लाग्छ म मान्छे होइन, साधन बनेको छु। दुख बाँड्न खोज्दा बोझ ठहरिन्छु, साँचो बोल्दा असहज हुन्छु।

“भीडमा हराउन सजिलो छ, तर भीडमै रहेर आफूलाई एक्लो महसुस गर्नु संसारको सबैभन्दा ठूलो सजाय हो।”

त्यो रात म फेरि त्यही ऐनाअगाडि उभिन्छु र आफ्नै प्रतिबिम्बभित्र एउटा अनौठो रिक्तता देख्छु। अस्ति आर्यघाटमा दनदनी बलेको त्यो शव सम्झिन्छु, जसले जीवनभर कैयौँ सम्बन्धहरू जोडेको थियो। उसलाई अग्नि दिने छोराहरू, वियोगमा छटपटाउँदै रुने आफन्त र छिमेकीहरू सबै त्यहीँ थिए, एउटा निकै ठूलो भिड थियो त्यहाँ। तर, जब आगोले शरीरलाई छुन्छ, तब जीवनका सारा पिडाहरू शान्त हुँदा रहेछन्। बाहिर मान्छेहरूको ताँती भए पनि, त्यो दन्किरहेको चिताभित्र खरानी हुन ऊ विल्कुल एक्लै थियो। वास्तवमा मृत्यु एउटा यस्तो नितान्त व्यक्तिगत यात्रा रहेछ, जहाँ आफन्तको प्रेम र आँसुले बाटो त देखाउन सक्छन्, तर सँगै जान सक्दैनन्। ऐनामा देखिने यो तस्बिर र त्यो दिन बलेको शव बीचको दुरी केवल एउटा सासको रहेछ; जीवन एउटा झुठो मेला जस्तो र मृत्यु नै एक मात्र अन्तिम र अटल सत्य जस्तो।

मेरो वरिपरि श्रीमती छिन्, आमा छिन्, सन्तान र साथीहरू छन्। तर, मेरो टाउको दुख्दाको पीडा म एक्लैले भोग्नुपर्छ।मेरो मस्तिष्कमा चल्ने द्वन्द्वको आँधी म एक्लैले थाम्नुनपर्छ।

मैले बुझेँ – सम्बन्धहरू त केवल सामाजिक लेप मात्र हुन्। बाहिरबाट हेर्दा हामी जोडिएका देखिन्छौँ, तर भित्रबाट हरेक मान्छे एउटा टापु जस्तै हो, जसको वरिपरि स्वार्थको समुद्र बगिरहेको छ।

मलाई “म” बनाउन शरीरका अंगहरू त सँगै छन्, तर ती अंगहरूलाई चलाउने “चेतना” नितान्त एक्लो छ।मेरो परिवारले मलाई माया गर्छ, तर उनीहरूले माया गर्ने “म” र मैले अनुभव गर्ने “म” मा आकाश-जमिनको फरक छ।उनीहरूले मेरो भूमिकालाई माया गर्छन्, मेरो अस्तित्वलाई होइन।

हो, म स्वार्थी संसारको एउटा निस्वार्थी यात्री बन्ने प्रयासमा थाकेको यात्री हुँ। आज फेरि त्यही निष्कर्षमा पुगेको छु:

म एक्लो छु। तर यो एक्लोपन अब मेरो कमजोरी होइन, मेरो शक्ति बनेको छ। किनकि, जो एक्लो छ, उसलाई कसैले छोडेर जाने डर हुँदैन।

आर्यघाटको त्यो जल्दै गरेको शवले मलाई एउटा कुरा स्पष्ट सिकायो जिन्दगीको अन्तिम गन्तव्यमा पुग्नुअघि नै “एक्लै हिँड्न” सिक्नु नै वास्तविक वैराग्य र शान्ति रहेछ।अरूबाट अपेक्षा गर्नु नै दुःखको बीउ रहेछ।

तपाईँको यो ‘एक्लोपन’ वास्तवमा आत्म-साक्षात्कारको पहिलो पाइला हुन सक्छ।के तपाईँलाई लाग्छ कि यो शून्यताबाट बाहिर निस्कन अरूको साथ चाहिन्छ, या आफैँभित्रको शान्ति नै पर्याप्त छ?

“They look for my hands to help, but never my heart to heal.”

Dinesh Bhandari

Facebooklinkedinmail

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top