म को हुँ ?

कसैले भने मान्छे हुँ म,
सृष्टिको एक सुन्दर रचना,
कसैले भने व्यर्थ छु म,
केवल एक रित्तो सपना ।

परिभाषा खोज्दा खोज्दै,
परिचय नै हराएझैँ लाग्छ,
ऐनामा हेर्दा आफ्नै छाया पनि,
बिरानो भएझैँ लाग्छ ।

पलभरको माया देखाई,
कसैले मलाई भुलाए,
स्वार्थको घुम्टो ओढी आउनेले,
बिच बाटोमै रुवाए ।

म को हुँ?
यो प्रश्नले,
मेरो आत्मालाई पोल्छ,
बाहिर हाँसे पनि मनभित्र,
मौनताले कोलाहल बोल्छ ।

म पनि यो विशाल भिडको,
एउटा सानो हिस्सा हुँ,
तर आफ्नै प्रेम कहानीको,
एउटा अधुरो किस्सा हुँ।

न मेरो कोही खास छ यहाँ,
न कसैको दिलमा बास छ,
भिडमा पनि नितान्त एक्लो,
जिउँदो लासझैँ आभास छ।

रित्तो हात आएको थिएँ,
रित्तै छोडी जानु छ,
पहिलो सासमा रोएको थिएँ,
अन्तिम सासमा रुवाई जानु छ।

यो स्वार्थी संसारको,
गतिसँगै चल्न खोज्दै छु,
मन भत्किएर के भो र?
टुक्राहरू बटुल्न खोज्दै छु।

न गन्तव्यको ठेगान छ,
न त पछाडि फर्कने बाटो,
बस भट्की रहेछु निरन्तर,
बोकी यो दुखी जिवनको पाटो ।

जति सोच्छु उति गहिरो,
एउटा महासागर बन्छ,
हरेक धड्कनले मलाई,
फेरि त्यही प्रश्न गर्छ।

म को हुँ?
के म केवल हाड र छालाको,
एउटा कमजोर शरीर हुँ?
कि समयको नदीमा बग्ने,
किनार नभएको नीर हुँ?

के म घामले कोरेको,
एउटा क्षणिक छाया हुँ?
कि अन्धकार चिरेर बल्ने,
अदृश्य न्यानो माया हुँ?

के म निन्द्रामा देखिने,
अधुरो एउटा सपना हुँ?
कि कहिल्यै पूरा नहुने,
जीवित एउटा चाहाना हुँ?

जवाफ कसैलाई थाहा छैन,
सायद कहिल्यै मिल्ने छैन,
ब्रह्माण्डको यो रहस्य,
कसैले कहिल्यै छिचोल्ने छैन।

पञ्चतत्वले बनेको यो काया,
एकदिन माटोमै मिल्नेछ,
खरानी भई उड्दा पनि,
हावामा यही प्रश्न खुल्नेछ।

जब यो शरीर माटो बन्ला,
अस्तु खोलामा बहनेछ,
के त्यति बेला नि मेरो आत्मामा,
एउटै प्रश्न रहनेछ?
म को हुँ?
आखिर… म को हुँ?

Facebooklinkedinmail

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top