चाहनाको भीडमा हराएको शान्ति

समाजले हामीलाई ईन्जिनियर, डाक्टर, म्यानेजर वा आदि भनेर चिन्छ। यिनै पद र परिचयलाई नै हामी वास्तविक पहिचान ठान्छौँ। तर साँझपख घर फर्कँदा त्यो पद र परिचय छोडिन्छ। जब हामी ऐनासामु उभिन्छौँ, तब मात्र हाम्रो वास्तविक पहिचान देखिन्छ। असलमा, हाम्रो असली पहिचान हाम्रो गुण, व्यवहार र मूल्यहरू हुन्, न कि पद र सत्ता। भनिन्छ, “Money is a good servant but a bad master.”, त्यस्तै पद र पैसा पनि हामीले काम चलाउन प्रयोग गर्ने उपादान हुन्, मालिक होइनन्।

त्यही बाँकी रहेको अंश नै हाम्रो वास्तविक ‘व्यक्तित्व’ हो। सम्पत्ति, शक्ति र पद समयसँगै आउँछन् र जान्छन्। तर दया, इमानदारिता, सहानुभूति, धैर्य र सत्यनिष्ठा यस्ता गुण हुन् जुन न समयले खोस्न सक्छ, न परिस्थितिले मेटाउन सक्छ। यिनै गुणहरूले हामीलाई मानिसको मनमा स्थान दिलाउँछन्। हामीले जीवनमा के कति धन सम्पत्ति बनायौँ भन्ने कुरा मान्छेले बिर्सिन सक्छ, तर हामी कस्तो मान्छे थियौँ भन्ने कुरा कहिल्यै बिर्सिँदैन।

जीवनको वास्तविक कसी बाहिरी संसारले होइन, हाम्रो घरले गर्छ। संसारले हाम्रो सफलता, पद र प्रतिष्ठा हेर्छ, तर हाम्रो परिवारले हाम्रो समय, व्यवहार र प्रेम महसुस गर्छ र गर्नु पनि पर्दछ। हाम्रो बैंकको ब्यालेन्सले मात्र छोरा छोरी सफल हुने होइन, हाम्रो साथ र संस्कारले उनीहरुको भबिस्य सुद्रिन सकिन्छ। आमाबुबालाई हाम्रो उपलब्धि होइन, हाम्रो माया र सम्मान चाहिन्छ। जीवनसाथीलाई हाम्रो हैसियत होइन, हाम्रो भावनात्मक उपस्थितिको आवश्यकता हुन्छ। यथार्थमा, जीवनमा सबैभन्दा मूल्यवान कुरा ‘हामी हुनु’ हो, ‘हाम्रो हुनु’ होइन।

आजको समयमा हामीमध्ये धेरैजसो मानिसहरू भित्रभित्रै थाकेका, मानसिक रूपमा असन्तुलित र असन्तुष्ट देखिन्छौँ। बाहिरबाट हेर्दा सबै ठीक जस्तो लाग्छ—हामी हाँसिरहेका हुन्छौँ, काम गरिरहेका हुन्छौँ, अगाडि बढिरहेका हुन्छौँ, तर भित्र कतै गहिरो खालीपन बसिरहेको हुन्छ। यसको कारण के हो भने, हामीले आफ्नो ध्यान गलत ठाउँमा केन्द्रित गरेका छौँ।

हामी बाहिरी संसारमा धेरै खोजिरहेका छौँ , धन, सुविधा, नाम, प्रतिष्ठा। हामी सोचिरहेका हुन्छौँ, “यी सबै पाएपछि मात्र खुशी मिल्छ ?” तर यो दौड कहिल्यै सकिँदैन। जति पाउँछौँ, त्यति अझै चाहना बढ्दै जान्छ। यही बीचमा हामीले आफ्नै मनभित्र के भइरहेको छ भन्ने कुरा बुझ्न समय नै दिएका हुँदैनौँ। तर यहाँ एउटा महत्वपूर्ण कुरा बुझ्न जरुरी छ, पैसा जीवनका लागि आवश्यक छ, तर जीवनको उद्देश्य होइन। पैसा बिना जीवन सहज हुँदैन, आवश्यकताहरू पूरा गर्न गाह्रो हुन्छ, र आधारभूत सुरक्षाको अनुभूति पनि कम हुन्छ। त्यसैले पैसा कमाउनु गलत होइन, बरु आवश्यक हो। तर जब पैसा नै जीवनको एकमात्र लक्ष्य बन्छ, त्यहीँबाट समस्या सुरु हुन्छ।

धेरै मानिसहरूले पैसा कमाउने दौडमा आफ्नो स्वास्थ्य, आफ्नो सम्बन्ध र आफ्नो मानसिक शान्ति गुमाइरहेका हुन्छन्। अन्त्यमा उनीहरूसँग पैसा त हुन्छ, तर त्यसलाई रमाइलो गरेर खर्च गर्ने मन हुँदैन, न त त्यो पैसा बाँड्ने सम्बन्धहरू नै बाँकी रहन्छन्।

पैसाले सुविधा दिन सक्छ, तर शान्ति दिन सक्दैन।
पैसाले घर बनाउन सक्छ, तर परिवार बनाउन सक्दैन।
पैसाले वस्तु किन्न सक्छ, तर साँचो खुशी किन्न सक्दैन।

यथार्थ के हो भने, मानिसले के चाहन्छ भन्ने कुरा उसको वातावरणले निर्धारण गर्छ। दुर्गम गाउँमा बस्ने मानिसहरूलाई शहरका विलासिता जस्तै महँगा खाना, ब्रान्डेड कपडा वा आधुनिक सुविधाहरूको कुनै विशेष लोभ हुँदैन। किनकि उनीहरूको आवश्यकता फरक हुन्छ। उनीहरू आफ्नो वरिपरि जे देख्छन्, त्यही अनुसार जीवनलाई बुझ्छन् र त्यहीभित्र सन्तुष्टि खोज्छन्। उनीहरूका लागि एक छाक खाना, परिवारको साथ, र शान्त निद्रा नै ठूलो सुख हो।

तर शहरमा बस्ने हामी, जहाँ सबै सुविधा उपलब्ध छन्, त्यहाँ पनि किन असन्तुष्ट छौँ ? किनभने हामीले ‘आवश्यकता’ र ‘चाहना’ बीचको भिन्नता बुझ्न सकेका छैनौँ। हामीलाई जे चाहिन्छ, त्योभन्दा धेरै चाहना राख्न थाल्छौँ। अनि ती चाहनाहरू पूरा हुँदैनन् भने मन अशान्त हुन्छ। यही कारणले गर्दा धेरै मानिसहरूसँग सबै कुरा भएर पनि मनमा शान्ति छैन।

जब जीवनमा कठिन समय आउँछ, तब धन, पद वा बाहिरी शक्ति हाम्रो साथमा उभिँदैन। त्यतिबेला हाम्रो भित्री शक्ति हाम्रो सोच, हाम्रो धैर्य, हाम्रो नैतिकता नै हाम्रो सहारा बन्छ। संकटको समयमा हामी जसरी व्यवहार गर्छौँ, त्यही नै हाम्रो वास्तविक परिचय हो। सफलतामा सबैले साथ दिन सक्छन्, तर कठिनाइमा हामी कस्तो मान्छे बन्छौँ, त्यही नै हाम्रो जिबनको असली परीक्षा हो।

त्यसैले, आफ्नो जीवनको प्राथमिकता परिवर्तन गरौँ:
पैसा कमाऔँ,तर पैसाका लागि आफूलाई हराउनु हुँदैन।
सफल बनौँ, तर शान्ति गुमाएर होइन।
धेरै पाऔँ, तर खुशी गुमाएर होइन।

आफ्नो मनलाई शान्त बनाउने, आफ्नो सम्बन्धहरूलाई बलियो बनाउने, र आफ्नो व्यक्तित्वलाई सुन्दर बनाउने कुरामा ध्यान दिऔँ।

त्यसैले, “हामीसँग के छ” भन्दा पनि “हामी के हौँ” भन्ने कुरालाई प्राथमिकता दिऔँ, किनकि पैसा आवश्यक हो , तर खुशी र मनको शान्ति नै जीवनको वास्तविक सफलता हो।

– दिनेश भण्डारी –

Facebooklinkedinmail

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top