मौनताको अनुगुन्जन: चार पर्खाल र हराएको म
समयको आफ्नै गति हुँदो रहेछ, तर अचेल मेरो समय थुनिएको छ। अचेल म रातको १:०० बजेतिर मात्र ओछ्यान समात्छु र बिहानको ८:०० बज्दा बल्लतल्ल मेरा आँखा खुल्छन्। यो कुनै रहर होइन, बरु लकडाउन र लामो समय देखिको एक्लोपनले मेरो जीवनको लयलाई नै भताभुङ्ग पारिदिएको परिणाम हो। लाग्छ, मेरो घडीको सुई अब बाहिरी संसारसँग होइन, मेरो मनको रिक्ततासँग चल्न थालेको छ। यो एक्लोपन कति भारि हुँदो रहेछ भने, कहिलेकाहीँ त आफ्नै श्वासको आवाज पनि कोठामा ठूलो सुनिन्छ र म आफैँ झस्किन्छु।
रित्तो घर र सम्झनाका तरेलीहरु
यो चार कोठाको घर, जहाँ कहिलेकाहीँ जीवनका रङ्गहरु भरिएका हुन्थे होलान्, आज एउटा सुनसान टापु जस्तै भएको छ। दिनभरि गर्नलाई केही छैन, बस टोलाएर भित्ता हेर्नु र आफ्नै अतीतका पानाहरु पल्टाउनु बाहेक। कहिलेकाहीँ म सोच्छु यदि यहाँ अरु कोही भइदिएको भए ? सायद मलाई यसरी समय काट्न महाभारत हुन्थेन होला। अलिकति गफ हुन्थ्यो, चियाको कपसँगै केही ठट्टा चल्थे, कहिलेकाहीँ ससाना कुरामा मनमुटाव हुन्थ्यो र फेरि हाँसोमा टुङ्गिन्थ्यो। आँसु र मुस्कानको त्यो सन्तुलनले जीवनलाई गतिशील बनाउँथ्यो। तर अहिले, यो निसब्धताले मलाई बिस्तारै निल्दै गएको महसुस हुन्छ।
कमिलाको लर्को र स्वतन्त्रताको खोजी
यो एकान्तवासले मलाई एउटा अनौठो बानी हालिदिएको छ, म अचेल मान्छेसँग होइन, मौनतासँग बोल्न थालेको छु। बिहान उठेर जब म आँगन बढार्छु, त्यहाँ ताँती बाँधेर हिँडिरहेका कमिलाहरु देख्छु। म उनीहरुसँग गफिन्छु, “ए भाइ हो, धेरै यताउता नगर न, कुल्चिएला। मलाई पाप नबोकाउ, दुःख नदेउ है!” संसारले मलाई देख्यो भने सायद बहुलायो भन्ला, तर ती कमिलालाई सम्झाउँदा मेरो मनको एउटा कुना भने शान्त हुन्छ। कम्तीमा मेरो कण्ठमा रोकिएका शब्दहरुले बाहिर निस्कन त पाए ! म घरका निर्जीव झ्याल-ढोका, गमलाका बिरुवा र आकाशका बादलसँग संवाद गर्ने कोसिस गर्छु। म भित्र कैद भएका ती हजारौँ भावनाहरुलाई शब्दको पखेटा दिएर स्वतन्त्र छोड्न चाहन्छु, किनकि म आफैँ त यो मानसिक र भौतिक पर्खालभित्र बन्दी छु।
डरको छाया र आफैँदेखि दूरी
म स-साना कुरामा खुसी खोज्ने नाटक त गर्छु, तर यथार्थमा म भित्रभित्रै कुनै गहिरो खाडलमा हराइरहेको छु। अचम्म त के छ भने, मलाई अब यो एक्लोपनसँग प्रेम हुन थालिसक्यो। मलाई मान्छेहरुको उपस्थिति, उनीहरुको सोधपुछ र कोलाहलबाट डर लाग्न थालेको छ। जब कसैको फोन आउँछ, मेरो मुटुको धडकन बढ्छ। फोन उठाउँदा मेरो आफ्नै आवाज मलाई बिरानो लाग्छ, कता कता एउटा अज्ञात डरले मलाई थिचिरहेको हुन्छ।
छिमेकीको सामान्य कुराकानी वा हाँसोको आवाज सुन्दा पनि मलाई असहज हुन्छ। म हतार-हतार झ्यालका पर्दाहरु लगाउँछु, ढोकामा साँचो लगाउँछु र ठूलो स्वरमा संगीत बजाउँछु ताकि बाहिरी संसारको कुनै पनि सङ्केत मेरो कानमा नपरोस्। मलाई आफैँ देखि डर लाग्न थालेको छ, कतै म यो समाज र मानवताबाट सधैँका लागि काटिएको त होइन?
यो समय कठोर छ, यसले हामीलाई आफन्तबाट मात्र होइन, आफ्नै अस्तित्वबाट पनि टाढा धकेल्ने कोसिस गरिरहेको छ। धेरै मानिसहरु आज यही मानसिक युद्ध लडिरहेका छन्। तर याद राख्नुहोस्, हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ।
यो समय पनि बित्नेछ। कुनै दिन फेरि ती झ्यालका ढोकाहरु खुल्नेछन्, छिमेकीको आवाज संगीत जस्तो लाग्नेछ र तपाईंको हाँसोले यी चार कोठाहरु फेरि गुञ्जनेछन्। तबसम्म, आफ्नो मनको दियो निभ्न नदिनुहोस्।



